२४ असोज ०७२ मा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने रोस्ट्रममा उभिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाहरुको खेल हो र राजनीतिमा असम्भव केही हुँदैन ।’
१९ साउन ०७३ मा त्यही रोस्ट्रममा उभिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव राखेका प्रचण्ड भन्दै थिए, ‘राजनीतिमा केही पनि असम्भव हुँदैन भन्ने चरितार्थ गर्दै म आफैं केपी ओलीप्रति अविश्वासको प्रस्ताव टेबल गराउँदैछु ।’
१७ असोजमा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिको घोषणा गर्दै प्रचण्डले फेरि सावित गर्दैछन्, ‘नेपाली राजनीतिमा असम्भव केही हुँदैन ।’
ओली सरकार ढालेर कांग्रेससँग गठबन्धन गरेको झण्डै १४ महिनापछि फेरि एमाले र माओवादी केन्द्र अझ खासगरी ओली र प्रचण्ड एकठाउँमा उभिएका छन् । यो मिलन कतिदिन टिक्छ, त्यो भविश्यले बताउला तर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन ५४ दिन मात्र बाँकी रहँदा एमाले र माओवादीको यो सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग भने जरुर ल्याएको छ ।
सत्ता साझेदार कांग्रेस एक प्रकारले स्तब्ध देखिएको छ । चुनावपछि पनि माओवादीसँग गठबन्धन गरेर सरकार चलाउने सपना देख्न थालेका देउवाले आफ्नै सहयात्री अर्कैसँग चुनावी तालेमल हुँदै एकताको सहमतिमा पुगेको पत्तै पाएनन् ।
कसरी सम्भव भयो यो मिलन ?
सत्ता सहयात्रा टुटेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुई ध्रुवमा उभिए । दुई नेताबीच संसददेखि सडकसम्म जुहारी चल्यो । यो देख्दा लाग्थ्यो, कम्तिमा यो चुनावसम्म्म एमाले र माओवादीको मिलन सम्भव छैन ।
तर, सबै जना दशैंको रमझममा रहेका बेला ‘सरप्राइज’ दिने शैलीमा दुई दलले समझदारी गरेका छन् ।
नेताहरुका अनुसार यो हिजोको आज भएको होइन । यसका लागि लगातार संवादहरु चलिरहेका थिए ।
प्रचण्डले एमाले छाडेर कांग्रेसतिर लागेपछि माधवकुमार नेपाल समूहले लगातार ओलीमाथि प्रश्न उठाउँदै आएको थियो । ओलीले सत्ता हस्तान्तरणको भद्र सहमति तोडेकै कारण प्रचण्ड शेरबहादुर देउवातिर गएको उनीहरुको बुझाइ थियो । ओली समूहकै बामदेव गौतम पनि माओवादीसँग सहयात्रा गर्ने पक्षमै थिए ।
माओवादीमा पनि नारायणकाजी श्रेष्ठसहितका नेताहरु एमालेसँग सहकार्य गर्नुपर्ने लाइनमा थिए । उनले माइतीघर मण्डलास्थित एक निजी घरमा पटक-पटक एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई भेटाएर घण्टौं वार्ता गराएका पनि हुन् । तर, सहमतिमा पुग्नुको साटो तिक्ततामै टुंगिने गरेको थियो ।
तर, पहिलो र दोस्रो चरणको स्थानीय चुनावको परिणामले वामपन्थी ध्रुवीकरणलाई बल पुर्यायो । बहुमतको सरकार बनाउने, त्यो हुन नसके पनि पहिलो बन्ने आफ्नो दाबीमा एमाले नेतृत्व स्वयं शंकामा पर्न थाल्यो । र, यदि माओवादीले कांग्रेससँग तालेमल गर्यो भने अवस्था खराब हुने विश्लेषण एमालेवृत्तमा हुनथाल्यो ।
एमालेका दोस्रो तहका नेताहरुले माओवादीसामू ६०/४० को भागबण्डामा चुनावी तालमेल गर्ने प्रस्ताव राख्दै आएका थिए, जसलाई दुवै पार्टीका नेतृत्वले पनि स्वीकार गरे ।
माओवादीका लागि यो आकर्षक प्रस्ताव थियो । प्रदेश २ को चुनावका क्रममा कांग्रेसले देखाएको व्यवहारबाट प्रचण्डलाई पनि एमालेसँग नजिक पुग्न सहज बन्यो । कांग्रेसका एक नेता भन्छन्, ‘प्रदेश २ मा चुनावी तालमेल गरौं भन्दा देउवाले जसरी इग्नोर गरे, त्यसले ओलीले लगाएको चोटलाई बिर्सायो ।’
यद्यपि, प्रचण्ड र ओलीबीच अझै पूर्ण विश्वासको वातावरण बनिसकेको थिएन । कतिसम्म भने करिव १० दिनअघि एमाले र माओवादीबीच चुनावी तालमेलको भद्र समझदारी भएको थियो, जुन झण्डै भत्किसकेको थियो ।
एमाले अध्यक्ष ओलीले चुनावी तालमेल तथा पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने बचन दिएनन् । त्यसबाट निरास बनेका प्रचण्ड नवमीको दिन कांग्रेस सभापति देउवालाई भेट्न पुगेका थिए ।
तर, देउवाले प्रचण्डको इशारा बुझेनन् वा बुझ्न चाहेनन् । उनले प्रचण्डलाई चितवन ३ मा जिताउनेबाहेक चुनावी तालमेलको कुनै ठोस प्रस्ताव दिएनन् ।
एमाले नेताहरुले त्यसको सुइँको पाए । र, प्रचण्डलाई पार्टी वा सरकारमध्ये एकको नेतृत्व सुम्पिने बचन दिन लगाए । यसले कम्तिमा चुनावी तालेमललाई सम्भव बनाएको छ ।